Monday, June 1, 2009

यार्सागुम्बा खोज्न गएका २ को मृत्यु तिनसय जति हिमालमै अलपत्र

यार्सागुम्बा सङ्कलनका लागि म्याग्दीको गुर्जा हिमाल पुगेका एकै परिवारका दुईजनाको हिउँले पुरिएर मृत्यु भएको छ । अत्याधिक हिमपातका कारण यार्सागुम्बा सङ्कलनका लागि त्यहाँ पुगेका तीन सयभन्दा बढी गाउँलेहरु अहिलेसम्म अलपत्र परिरहेका छन् । मृत्यु हुनेहरुमा मुदी गाविस-३ का ३६ वर्र्षय काले घर्ती र ३२ वर्षीय टिका घर्ती रहेका छन् । हिमपातकै कारण त्यहा पुगेका गाउलेहरु समेत अलपत्र परेकाले मृतकहरुको शवलाई अहिलेसम्म गाउँसम्म लैजान सकिएको छैन । मुदीमा रहेको बुद्धिविकास माध्यमिक विद्यालयका शिक्षक ध्रुव भण्डारीका अनुसार सो गाउँका अधिकास बासिन्दाहरु गत बैसाख महिनाको तेश्रोसाता गुर्जा हिमालतर्फ लागेका थिए । उनीहरु त्यहाँ पुग्नासाथ हिमपात शुरु भएको र हिमपातको क्रम अत्याधिक बढ्दै जान थालेपछि दाजुभाइको मृत्यु भएको हो । उनीहरुसँगै त्यहाँ गएका साथै गाउँलेहरु अलपत्र परेका हुन् । अहिले मुदीमा रहेका गाउँलेहरु आफन्तहरुको शोकमा डुबेका छन् । घटनास्थलसम्म मृतक तथा घाइतेहरुको उद्धारका लागि पनि अहिलेसम्म कुनै निकाय पुग्न नसकेका कारण त्यहाँ पुगेका गाउँलेहरुमा थप दुर्घटना बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले भने घटनाका बारेमा कुनै पनि औपचारिक जानकारी नआएको बताउँदै सत्यतथ्य बुझ्नका लागि ताकम इलाका प्रहरी चौकीलाई अनुरोध गरिएको बताएको छ । घटनास्थलमा प्रहरी पुग्नका लागि करिब चार दिनसम्मको पैदलयात्रा गर्नुपर्ने भएकाले हिमालको फेदीमा रहेकाहरुको उद्धारका लागि अझै केही दिन लाग्नसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र मल्लले आफूलाई कुनै औपचारिक जानकारी नआएको बताउँदै दिउसोमात्र ताकममा रहेको ईलाका प्रहरी चौकीलाई घटनास्थलतर्फ पठाइएको जानकारी दिए । यसवर्षको हिउँदका समय भएको प्रतिकूल मौसमका कारण हिमाली भेगमा तापक्रम बढेको र बैसाखको तेश्रो सातादेखि मौसममा आएको अनुकुलताका कारण हिमाली भेगमा अत्याधिक हिमपात भएको छ । यसैबीच शुक्रबार दिउँसो म्याग्दीमा भिषण वर्षा भएको छ । वर्षाका कारण जिल्ला सदरमुकामा रहेका जिल्ला पशुसेवा कार्यालय र जिल्ला भुसंरक्षण कार्यालयका भवनहरुमा क्षती पुर्‍याएको छ । त्यस्तै विभिन्न ठाउाहरुमा पहिरो गएका कारण ग्रामिण सडकहरु अवरुद्ध भएका छन्भने शुक्रबार दिउासो २ बजेदेखि सांझ ६ बजेसम्म सदरमुकाम बेनीबजारको जनजीवन निकै कष्टकर बनेको थियो ।

No comments:

Post a Comment